श्रीकृष्ण जन्माष्टमी
सनातन हिन्दु धर्ममा विभिन्न चाडपर्वहरु छन् । यी मध्ये केही निकै महत्वपूर्ण मानिन्छन् । जन्माष्टमी , शिवरात्री, अक्षय तृतीया, दशैँ तिहार जस्ता पर्वहरु महत्वपूर्ण हुन् । हिन्दु धर्म मा ४ वटा रातलाई विशेष मानिन्छ । शिवरात्री, सुखरात्री, मोहरात्री र कालरात्री । भगवान् कृष्णको जन्मको समयमा कंसका कारगारमा भएको सबै सैनिकहरु लगायत संसारका सबै प्राणिहरु मोहित भएका थिए । त्यसकारण यस रातलाई मोह रात्री भनिन्छ । आजको व्रत पनि राति १२ बजेसम्मको नै हुन्छ भने यसको महत्व पनि रात्रीको नै बढी छ । अन्य रात्रिहरुको पनि आफ्नै महत्वपूर्ण विशेषताहरु छन् । आजको दिन ब्रह्म परमात्माको विशेष अवतार भएको दिन हो । भगवान्लाई शास्त्रहरुमा अजन्मा भनिएको छ । त्यही अजन्मा भगवान् पनि बेला बखतमा सज्जन र धर्मको रक्षाका लागि अवतार लिने गर्नुहुन्छ । यही अजन्मा भगवानको जन्म कसरी भयो भन्ने विषयमा पुराण लगायतका ग्रन्थहरु निकै रोचक चर्चाहरु भएका छन् ।
“यदा यदा हि धर्मस्य ग्लानीर्भवती भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
परित्राणाय साधुनां विनाशाय च दुष्कृताम् । धर्म संस्थापनार्थाय संभवामी युगे युगे ।।”
द्वापर युगको अन्त्य समयमा भगवान् कृष्णले पृथ्वीका दुष्ट र आसुरी स्वभाव भएकाहरुको नाश गर्न यस अवतार लिनुभएको हो । भगवान् कृष्णको जन्म भाद्र महिना कृष्ण पक्षको अष्टमी तिथि को मध्य राती १२ बजे भएको थियो । यस दिन रोहिणी नक्षत्र र बुधबार थियो भन्ने कुराका प्रमाणहरु श्रीमद् भागवत लगायतका ग्रन्थहरुमा पाइन्छ । भगवान् कृष्ण कुनै अवतार नभई भगवान् नै आउनुभएको हो भनेर श्रीमद् भागवतमा व्यासजीले बताउनु भएको छ । १६ कलाको अवतार नै कृष्णावतार हो भने भगवान विष्णुको २४ अवतार मध्ये कृष्णावतार विशेष महत्वपूर्ण मानिन्छ । भगवान् कृष्णको जन्म देखि अन्तिम समयसम्म का सबै लिलाहरु निकै रोचक र संघर्षपूर्ण देखिन्छ । जसको जीवनमा संघर्ष धेरै हुन्छ उसैले नै प्रगती राम्रो गर्दछ । उसको नै कीर्ति चौतर्फी फैलिन्छ । भगवान् कृष्णको जीवनमा पनि धेरै संघर्षहरु भएका छन् । तर यी संघर्षहरु भगवान्ले आफ्नो लागि भने गर्नुभएको छैन । अन्याय र अत्याचार सहेर बस्न बाध्य त्यस समयका प्राणीहरुको रक्षाको लागि नै भगवानले संघर्ष गर्नुभएको छ ।
देवकी र वसुदेवको सन्तानको रुपमा भगवान् कृष्णको जन्म कंसको कारागारमा भएको हो । कंसले देवकीको आठौँ सन्तानले आफ्नो नाश गर्छ भन्ने आकाशवाणी सुनेर देवकी र वसुदेवलाई जेलमा लगी राखेको थियो । आफ्नै मामाको साइनो पर्ने कंसले भगवान् कृष्ण भन्दा अगाडी जन्मिएका ६ जना बालकहरुको हत्या गरेको थियो । देवकीको ७ औँ गर्भ रोहिणीमा सारियो र गर्भ तुहिएको मानियो । अाँठौ गर्भमा जन्मिएका भगवान् कृष्णलाई बुबा वसुदेवले नन्दबाबाको घरमा राखि भगवान् कै आदेश अनुसार नन्दबाबाको छोरीलाई लिएर आउनुभयो । कंसले त्यस बालिकालाई पनि आफ्नो शत्रु मानेर मार्ने प्रयास गर्यो । तर भगवान् कृष्ण नन्दगाउँमा नन्द र यशोदाको छोराको रुपले हुर्किन लाग्नुभयो ।
कंसले त्यहाँ पनि धेरै दुःख दिएको छ । भगवान् कृष्णलाई मार्नको लागि धेरै राक्षसहरु आए । भगवानको अगाडी असत्यको केही लागेन सबै भस्म भए । पुतना, अघासुर, वकासुर, धेनुकासुर, तृणावर्त,वत्सासुर लगायतका धेरै राक्षसहरुलाई बालक अवस्थामा नै मार्नु परेको थियो । त्यसपछि पनि भगवानले चाणुर, मुष्टिक, कंस, जरासन्ध, कालयवन, भौमासु, शिशुपाल जस्ता राक्षसहरु लाई मारि धेरैको कल्याण गर्नुभयो । गोपीहरु प्रतिको प्रेमले वास्तविक सच्चा प्रेमको आदर्शलाई पनि स्थापित गर्नुभयो । सुदामा, उद्धव, अक्रुर लगायतको पनि भगवान प्रतिको प्रेमले नतमस्तक भएका छन् । यस्ता भगवान्का लिलाहरुको शास्त्रहरुमा कति चर्चा भएका छन् । कुनै लेखा जोखा नै छ्रैन ।
भगवान्का लिला चरित्रहरु जे जस्ता भएका छन् ति सबै अरुकै कल्याणका लागि भएका छन् । १६ हजार १ सय ८ विवाह पनि आफ्नो मनखुशी नभइ अरुको कल्याणको लागि बाध्यता जस्तै भएको देखिन्छ । यस्ता सबै लिलाहरु गर्न सक्ने भगवान कृष्ण १२५ वर्ष पृथ्वीमा बसी स्वधाम गमन भएको कुरा शास्त्रहरुमा उल्लेख गरिएको छ । उहाँले महाभारत युद्धको समयमा अर्जुनलाई निमित्त बनाई दिनुभएको गीता को दिव्योपदेश आज संसारमा सबैको लोकप्रिय भएको छ भने सबै भन्दा धेरै भाषमा अनुवाद भएको किताव पनि बनेको छ ।
उहाँको लिला चरित्रलाई जसरी बुझ्ने मानिसहरु जुनसुकै क्षेत्रमा लागेका भए पनि सबै कृष्णका अगाडी नतमस्तक बनेका छन् ।





