यात्रामा शुभ शकुन
हरेक कार्यका लागि सहि र गलत समयको बारेमा जानकारी दिने वैदिक शास्त्र ज्योतिष निकै महत्वपूर्ण छन् । संसारमा भएका शास्त्रहरु मध्ये ज्योतिष शास्त्र मात्र यस्तो विषय हो जसले यस संसारमा भएका र हुनेवाला, भूत, भविष्य र वर्तमानका घटनाहरुको जानकारी दिन्छ । ग्रहहरुका आधारमा संसारमा आउनेवाला घटनालाई जान्न यसको माध्यमले सकिन्छ । सूर्य उदाउने,अस्ताउने, ग्रहण लाग्ने, ग्रहण समाप्त हुने, औँशी, पूर्णिमा आदि कहिले पर्ने, आदि ब्रह्माण्डका कुराहरु देखि मानिसका जीवनमा हुनसक्ने सबै कुराहरुलाई ज्योतिषको माध्यम बाट थाहा पाउन सकिन्छ । यसका साथै कुन काम गर्नको लागि कुन समय उत्तम र कुन समय खराव भन्ने विषयको ज्ञान पनि ज्योतिष शास्त्रबाट मिल्दछ ।
आज हामी यसै विषयहरुको चर्चा गर्ने शिलशिलामा के कस्ता वस्तुहरु देखिएमा यात्रा शुभ हुन्छ भन्ने विषयको बारेमा ज्योतिषिय जानकारी दिन्छौँ । कतिपय शुभ शकुनको बारेमा त तपाइँहरुलार्ई पनि थाहा छ र कतिपय कुरा भने थाहा नहुन पनि सक्छ । ज्योतिष शास्त्रका अनुसार यात्राको समयमा ब्राह्मण, घोडा, हात्ति लगायतलाई देख्नु शुभ हुन्छ ।
राम्रा फलफूल, अन्न, दूध, दही आदि पनि यात्रा गर्ने समयमा देखिनु निकै राम्रो मानिन्छ ।
यसैगरि गाइ देखिनु पनि शुभ शकुन मानिन्छ ।
सस्र्यूँ, कमलको फूल तथा नयाँ कपडा देखिनु पनि शुभ हुन्छ ।
यसैगरि वेश्या तथा बाजा देखिनु पनि यात्रा शुभ हुने संकेत हो ।
पंछीहरुमा मयुर देखिनु राम्रो हुन्छ । नीलकण्ठ, न्याउरी मूसो, बाँधिएको वस्तुभाउ देख्नु पनि यात्रा सफलताको संकेत हो ।
मासु, देखिनु पनि यात्रामा शुभ शकुन मानिन्छ ।
यात्रा गर्दा शुभ र मधुर बचन बोलेको सुन्नु पनि राम्रो भएकाले पहिला पहिला विशेष कार्य शुरु गर्दा वेदका मन्त्रहरुबाट स्वस्तिवाचन गर्ने गरिन्थ्यो ।
कसुमको फूल, ऊखु, र भरिएको घडालाई शुभ मानिने भएकाले यात्रा गर्दा बाटो ढोका लगायतका स्थानहरुमा भरिएको कलश या गाग्रीहरु राखिने प्रचलन यही शकुन शास्त्रको आधारमा नै हाम्रो समाजमा चलेको हो ।
छातालाई पनि यात्रामा शुभ शकुन मानिन्छ । माटो पनि शुभ हो । यही कारणले गर्दा नै विवाह व्रतबन्ध आदि विशेष कार्य गर्दा माटो खनेर साइत गर्ने चलन हाम्रो समाजमा चलेको हो । कन्या केटी पनि यात्रामा देखिनु शुभ हुन्छ ।
विभिन्न प्रकारका रत्नहरु, पगरी, सेतो रङ्गको गोरु तथा मदिरालाई पनि शुभ शकुन मानिन्छ भनेर ज्योतिष तथा शकुन शास्त्रहरुमा लेखिएको छ ।
बालक समातेकी महिला, बलेको दीयो, बलेको आगो पनि यात्रामा शुभ संकेत मानिन्छ । ऐनालाई पनि यात्रामा शुभ मानिन्छ ।
त्यसकारण यात्रा शुरु गर्नु अगाडी ऐना हेर्नु राम्रो हुन्छ । यसले व्यक्तित्वलाई अझै मजबुत बनाउने काम गर्दछ भन्ने मान्यता रहेको छ ।
लगाउने गाजल र धोएको कपडा बोकेर हिँडेको धोवीलाई देख्नु पनि राम्रो मानिएको छ ।
तर यात्रामा चिसो कपडा देख्नुलाई भने अशुभ मानिएको छ ।
त्यसकारण धोवीले बोकेको कपडा धोएको र सुकेको पनि हुनुपर्छ भन्ने बुझ्नुपर्छ ।
माछालाई शुभ शकुन मानिने भएकाले विवाहको समयमा जन्तीको अगाडी माछा, पालुङ्गो राखेर भार बोकेर जाने चलन चलेको हो ।
यसैगरि विशेष गरेर नेवार जातिमा कुनै पनि कार्यको शुरुमा माछा र दही खाने चलन चलेको देखिन्छ ।
घिउ, मह, सिंहासन देख्नु पनि यात्रामा शुभ हुन्छ ।
मरेको लाश देख्नु पनि यात्रामा शुभ मानिन्छ, तर शान्त अर्थात् केवल लाश मात्र, कोही पनि नरोएको लाश देख्नु राम्रो हो ।
रङ्गिविरङ्गी ध्वजापताका तथा बाख्रा देख्नु पनि यात्रामा शुभ मानिन्छ ।
हतियार, गोरोचन, भारद्वाज पंक्षी, पालकी आदि देख्नु पनि यात्रालाई शुभ संकेत गर्दछन् ।
वेदका मन्त्रहरुको ध्वनी, मङ्गल गीत तथा धूनहरु, बजेको पनि यात्रामा शुभ मानिन्छ भने अङ्कुश देख्नु पनि यात्रामा शुभ हुन्छ भनेर शकुन शास्त्रहरुले बताएका छन् ।
रित्ता घडाहरु पनि आफू अगाडी गइसकेपछि पछाडी देखिनुलाई पनि शुभ मानिन्छ तर रित्ता भाँडा अगाडी देखिनु चाहीँ अशुभ हुन्छ ।
यसरी ज्योतिष तथा शकुन शास्त्रमा यस्ता विविध विषयहरुको बारेमा चर्चा गरिएको छ । यी विषयहरुको यहाँहरुका लागि महत्वपूर्ण हुनेछ भन्ने आशयले नै जानकारी दिएका छौँ । आगामाी दिनहरुमा पनि यस्तै विषयहरु यहाँहरुको सामु प्रस्तुत गर्नेछौँ ।





