यात्रामा अशुभ शकुन
सनातन धर्ममा एउटा मान्यता छ, त्यो हो यात्राको समयमा देखिने विभिन्न कुराहरुको आधारमा यात्रा शुभ कि अशुभ भनेर थाहा पाउने । के साँच्चै नै यात्रा शुरु गर्ने बेलामा देखिएको विभिन्न कुराहरुको आधारमा नै यात्रा शुभ कि अशुभ हुन्छ भन्ने निक्र्योल हुन्छ त ? आफुले गर्न लागेको महत्वपूर्ण काम अशुभ शकुन देख्दैमा बिग्रिन्छ त ? अनि गलत काम पनि शुभ शकुन शकुन देख्नाले नै पुरा हुने हो त ? यदी यस्तो हुँदैन भने हाम्रो समाजमा धेरै पहिले देखि यस्तो मान्यता कसरी स्थापित भयो त ? सुन्दा हामीलाई अवश्य पनि यस्तो देख्दैमा केही फरक पर्दैन भन्ने लाग्दछ र कतिपय चलेका चलनहरुलाई हामी आफुलाई मन नपर्दैमा गलत हो भन्न पनि भ्याइहाल्छौँ । तर हाम्रा शास्त्रहरुका आधारमा हेर्ने हो भने यी कुराहरुमा सत्यता रहेको पाउँछौँ । हाम्रो बुझाईको कमीले नै हामीले विश्वास गर्न नसकेको हामी पाउँछौँ । कुनै पनि यात्रामा अपशकुन देख्दैमा त्यसैले नै हाम्रो काम बिगार्ने भने होइन । यो त ति अपशकुनहरुले हामीलाइ अग्रिम जानकारी मात्र दिएका हुन् । आज हामी ज्योतिष शास्त्रका आधारमा हेर्दा यात्राको समयमा के कस्ता कुराहरु देख्नुलाई अपशकुन मानिन्छ भन्ने जानकारी दिन्छौँ ।
विभिन्न कार्यहरुको लागि मुहुर्तको जानकारी दिने मुहुर्त ग्रन्थहरुका अनुसार कुनै पनि महत्वपूर्ण यात्रा गर्दा बाँझी महिलालाई देख्नु अशुभ मानिन्छ ।
छाला, भूस, हड्डी आदि देख्नुलाई पनि यात्रामा अशुभ मानिन्छ । यसैगरि नून, सर्प, कालो अङ्गार, दाउरा आदि देख्नुलाई पनि यात्राको समयमा देख्नु अशुभ मानिएको छ । हिँजडा, मलमूत्र, तेल, मदोन्मत्त भएको पुरुष, बोसो, औषधी आदिलाई पनि यात्रा प्रारम्भ भएको समयमा देख्नु अशुभ मानिन्छ । शत्रु, जटा अर्थात् लामो कपाल पालेको सन्यासी देखिनु पनि यात्रामा अशुभ मानिन्छ । बढारेको कसिङ्गर, रोगी मानिस, नांगो मानिस र बुकुवा लगाएको मानिस लाई यात्राको समयमा देख्नु अशुभ हुन्छ ।
कपाल असरल्ल छरेको अर्थात् खुला कपाल देख्नु पनि अशुभ हुन्छ । त्यसकारण कसैलाई विदाइ गर्दा कपाल खुल्ला छाड्नु निषेध गरिएको छ । पतित , अङ्गहीन, भोकाएको कोही पनि देखिनु राम्रो मानिँदैन । रगत, छेपारो, घर जलेको र बिरालोको लडाइँ पनि यात्रामा अशुभ हुन्छ । यसैगरि यात्राको आरम्भमा हाच्छिउँ आउनुलाई पनि शुभ मानिँदैन । रातो लुगा लगाएको मानिस, सखर, मोही, हिलो पनि अशुभ मानिएको छ । यसरी यात्राको समयमा अशुभ शकुनहरुको बारेमा ज्योतिष शास्त्रमा धेरै कुराहरु बताइएको छ ।
विधवा महिला, लङ्गडो मानिस, पनि यात्रा शुरु गर्दाको समयमा देखिनुले राम्रो संकेत गर्दैन भन्ने मान्यता छ । यात्रा गर्ने समयमा आफ्नो कुल कुटुम्बमा झगडा हुन्छ या भएको सुनिन्छ भने त्यो पनि राम्रो होइन, अशुभ हो । लगाएको कपडा शरिरबाट भुइँमा खस्नु पनि अशुभ मानिन्छ । भैँसीको लडाइँ, कालो अन्न, कपास, उल्टी भएको देख्नु लाई पनि अपशकुन भनेर विद्वान् हरुले भनेका छन् । यात्राको समयमा दहिने तर्फबाट गधाको आवाज आउनु पनि अशुभ शुकुन हो भने धेरै क्रोध आएमा पनि अशुभ हुन जान्छ ।
गर्भवती महिला, केश मुण्डन गरेको मानिस देख्नु पनि अपशकुन हुन्छ भनिएको छ । साथै यात्राको प्रारम्भमा चिसो कपाल हातमा लिएर आएको देख्नु पनि अपशकुन मानिन्छ । यसका साथै घरको भान्सा नउठ्दै जुठोमा नै हिँड्न पनि निषेध गरिएको छ । यसरी विभिन्न सूक्ष्मभन्दा पनि सूक्ष्म कुराको अनुसन्धान गरेर ज्योतिष शास्त्रका पुराना आचार्यहरुले आफ्ना ग्रन्थहरुमा उल्लेख गरिएको भेटिन्छ ।
यात्रा गर्नैपर्ने छ तर यात्रा गर्दा यि अपशकुन हरु देखिएमा त्यसका लागि केही उपायहरु पनि छन् । जस्तै यात्रा शुरु गर्दा अहिले भनिएका अपशकुनहरु पहिलो पटक देखिएमा देखिने बित्तिकै टक्क रोकिनु र ११ पटक श्वास फेरेर मात्र अगाडी बढ्नुपर्छ । फेरी दोश्रो पटक पनि यस्तै अपशकुन देखेमा यसैगरि १६ पटक श्वास लिएर मात्र अगाडी बढ्नुपर्छ ।
यसै गरि तेश्रोपटक पनि यस्तै कुनै अपशकुन देखिए भने यात्रा गर्नुहुँदैन । घर फर्केर आउनु भनिएको छ । त्यसकारण यात्रामा तेश्रोपटक सम्म अशुभ शकुन देखिनु चाहीँ निकै अशुभ मानिएको छ । यस्तो अवस्थामा यात्रा गर्नु हुँदैन । तर समय बलवान् हुन्छ, समयले पर्खिँदैन । कुनै कुनै काम यस्ता हुन्छन् जुन काम रोक्नै मिल्दैन, हो यस्तो अवस्थामा मात्र भने आफ्नो इष्टदेवताको स्मरण गरेर यात्रा गर्नु राम्रो हुन्छ ।





