सनातन धर्ममा कुशलाई निकै महत्व दिइएको छ । हरेक वर्षको भाद्र अमावाश्या अर्थात् औँशीकाे दिन कुश उखेल्ने गरिन्छ । जन्मदेखि मृत्यु पछि गरिने कर्महरु पनि कुशबिना अधुरा हुन्छन् । यसैले संपूर्ण धार्मिक कर्महरु गर्नको लागि घरघरमा कुश अनिवार्य राख्नैपर्छ । कुशलाई जरासहित नै उखेल्नुपर्छ । कुश उखेल्दा पूर्व वा उत्तरतर्फ फर्किएर उखेल्ने शास्त्रिय नियम छ भने कुश उखेल्दा ॐ हूँ फट् भनेर उखेल्नुपर्छ । यसरी यस दिन विधिपूर्वक उखेलेकाे कुशलाई पुरोहितहरुले आफ्ना यजमानहरुको घरमा लगेर दिनुपर्छ । कुश दिँदा भन्ने मन्त्र यस्तो छ ः

ॐ विरिञ्चिना सहोत्पन्नः परमेष्ठी निसर्गतः । नुद सर्वाणि कर्माणि दर्भ स्वस्तिकरो भव ।।

ॐ कुशाग्रे वसते रुद्रः कुशमध्ये च केशवः। कुशमूले वसेद् ब्रह्मा कुशान् मे देहि मेदिनि।।

पुराेहितकाे हातबाट कुश ग्रहण गरि पुरोहितलाई टिका लगाई दिक्षिणा दिएर विदाइ गर्नुपर्छ ।

कुशमा ब्रह्मा, विष्णु, महेश्वर तीन ओटै देवताको वास हुने भएकाले हरेक कार्यमा कुश अनिवार्य मानिन्छ । पुजा तथा विशेष कार्यमा बनाइने औँठी, मोटक, तथा पवित्र ग्रन्थीहरु कुश कै हुने गर्दछन् । धर्म शास्त्रहरुका अनुसार कुशको आसन बिना गरेका कुनै पनि कार्यले पुरा फल दिन सक्दैन । कुशे औँशीको दिन उखेलेको कुश १ वर्ष सम्म प्रयोग गर्न मिल्छ भने सोमबारे औँशीमा उखेलेको कुश १२ वर्ष सम्म प्रयोग गर्न मिल्छ । त्यसैले आज विशेष दिन हो । आजको दिन उखलेको कुशको प्रभाव १ वर्षसम्म रहन्छ । आजको दिन उखेलेको कुश घरमा राख्नाले चट्याङ्ग आदि ठूला विपत्ति नपर्ने जनविश्वास रही आएको छ ।
कुशको उत्पत्ति वराह पुराण अनुसार भगवान् वराहको रौँ बाट भएको मानिन्छ । स्कन्द पुराण अनुसार वृन्दाको श्रापले भगवान विष्णु नै कुश भएको र अन्य ग्रन्थहरुका अनुसार भगवान् विष्णुले नै आफ्नो वाहन गरुडलाई कुश मेरो रौँ बाट उत्पत्ति भएको हो भन्नुभएको पाइन्छ ।
कुशको उत्पत्तिको विषयमा हिन्दु धर्म ग्रन्थहरुमा यस्ता थरि थरिका मतहरु पाइएता पनि सबैले कुशलाई अत्यन्तै महत्वपूर्ण र पवित्र बस्तु मानेका छन् । कुश उम्रेको भूमी निकै पवित्र हुने भएकाले ठूला यज्ञहरु गर्न यस्ता जमिनहरुलाई राम्रो मानिन्छ । विज्ञानले पनि कुशलाई विद्युत अवरोधक मानेको हुनाले यो महत्वपूर्ण हो भन्नेमा कुनै शंका छैन ।
समग्रमा भन्नुपर्दा कुशै औँशीलाई सामाजिक, धार्मिक र साँस्कृतिक पर्वको त्रिवेणीको रुपमा मान्न सकिन्छ ।

कमेन्ट छाेड्नुहाेस्

Please enter your comment!
Please enter your name here