यस वर्ष जेठ ३ गते देखि अधिक मास शुरु भएको छ । यसैले जेठ ३ गतेदेखि असार १ गतेसम्मको अवधिलाई मलमास वा पुरुषोत्तम महिना भनिन्छ । अधिक मास आएपछि यो महिनामा यस्तो कार्य गर्न हुन्छ, यस्तो कार्य गर्न हुँदैन भन्ने अनेक कुराहरु हाम्रो समाजमा चल्ने गर्छ । अन्य विषयको बारेमा धेरै थाहा नभएपनि यस समयमा नव विवाहित जोडी सँगै बस्न हुँदैन भन्ने कुरा चाहीँ अधिकाँश मानिसलाई थाहा हुन्छ । त्यसकारण यो समयमा नयाँ दुलहीहरु माइत जान्छन् । आखिर मलमास के हो त ? यसलाई अन्य महिनाहरु भन्दा किन फरक तरिकाले हेरिन्छ ? अधिक मास किन पर्छ ? कति कति समयमा पर्छ भन्ने कुराहरुको जानकारी हामी आज तपाइँहरुलाई दिनेछौँ ।
अधिक मासलाई मलमास, पुरुषोत्तम महिना जस्ता नामहरुले पनि बुझिन्छ । हिन्दु धर्म ग्रन्थहरुका अनुसार यो १ महिनाको समयमा कुनै पनि विशेष धार्मिक कार्यहरु गर्न नहुने मान्यता रहेको छ । त्यसकारण मलमासको अवधीभर नयाँ घर सर्ने, जग राख्ने, विवाह, व्रतबन्ध, सप्ताह, ग्रहपूजा जस्ता शुभकार्य हरु हुँदैनन् । ज्योतिष शास्त्रमा पनि यस समयमा विशेष धार्मिक कार्यहरुलाई निषेध नै गरिएको छ ।
यस अवधिभर केही धार्मिक कार्यहरु भने गर्न मिल्छ । जस्तै — बालकहरुको अन्नप्राशन, न्वारन, भजन तथा सत्संगहरु र मानिसको मृत्यु भएपछि गरिने कर्महरु गर्न मिल्छ र यसका साथै यो समयमा आफूले दैनिक गर्ने पूजा लगायतका नित्यकर्महरु भने गर्नुपर्छ । तर अन्य महिनाहरु भन्दा किन यो समयलाई विशेष मानियो त ?
सौरमण्डलमा रहेका ग्रहहरु सबै आ आफ्नै रफ्तारमा हिँड्ने गर्दछन् । कुनै ग्रहहरु निकै छिट्टो हिँड्दछन् भने कुनै निकै कमको गतिमा हिँड्दछन् । त्यही ग्रहहरुको आधारमा नै हरेक कार्यहरुका साइतहरु देखि लिएर मानिसको जन्म कुण्डली पनि हेर्ने गरिन्छ । अझै भनौँ भने निर्माण कार्य सँग संबन्धित वास्तु शास्त्रमा पनि ग्रहहरुको अनुसार नै कुन निर्माण कहाँ गर्ने भनेर निर्देशन गरिएको छ ।

ज्योतिष शास्त्रअनुसार मलमास
हामीले कामकाजका लागि प्रयोग गर्ने गते र तारिखहरु सूर्यको गतिको आधारमा गणना गरिन्छ । यही सूर्यको आधारमा नै ३६५ दिनमा हाम्रो एक वर्ष हुन्छ भने चन्द्रमाको अर्थात् तिथिको गणना अनुसार ३५४ दिनमा १ वर्ष हुन्छ । यसरी विचार गर्दा सूर्य र चन्द्रमा बिच १ वर्षको अवधीमा लगभग ११ दिनको फरक आउँछ । २ वर्षमा सूर्य र चन्द्रबिच २२ दिन र ३ वर्षमा ३३ दिनको फरक पर्दछ । अधिकमास परेको तेश्रो वर्षमा सूर्यको गणना अनुसार १२ वटा मात्र महिना भएपनि चन्द्रमाका आधरमा भने १३ वटा महिना हुन जान्छ । यही सूर्य र चन्द्रमाको गतिको व्यालेन्स मिलाउन नै प्रत्येक ३÷३ वर्षमा मलमास पर्ने गर्दछ । मलमास जुनसुकै महिनामा पनि पर्न सक्छ । मलमास कुन महिनामा पर्छ भन्ने प्रमाण “ज्योतिःसारशिरोमणिमा” यसरी बताइएको छ —
असंक्रान्तिमासोऽधिमासः स्फुटंस्याद् द्विसंक्रान्तिमासः क्षयाख्यः कदाचित् ।
क्षयः कार्तिकादि त्रये नान्यतः स्यात्तदा वर्षमध्येऽधिमासद्वयञ्च ।।
अमावस्याद्वयं चैव प्रतिपच्च त्रयं त्रयम् ।
मलमासेन विज्ञेया पराशरवचो यथा ।।
अर्थात्, यदी कुनै पनि महिनाको एउटा औँशीको समाप्ती (प्रतिपदा) देखि अर्को औँशीको बिचमा संक्रान्ति परेको छैन भने, त्यस २ औँशीको बिचको समयलाई मलमास भनिन्छ । धर्मशास्त्रहरुमा सूर्य संक्रान्ति नपरेको महिनालाई अशुद्ध र दोषयुक्त मानिएको हुनाले यसलाई मलमास भनिएको हो । त्यस्तै यदी एउटै चान्द्रमासमा अर्थात् एउटा औँशी देखि अर्को औँशीको बीचमा २ वटा संक्रान्ति परेमा त्यस महिनालाई क्षय मास भनिन्छ । क्षयमास परेको महिनामा अघि र पछि २ वटा अधिक मास पनि पर्दछ । यसपाली साउन महिनामा मलमास परेको छ ।
दिनहरु लामो हुने महिनामा अधिक मासहरु हुने संभावना बढी हुन्छ । त्यसकारण प्रायः जसो फागुन देखि असोजसम्मका महिनाहरुमा नै अधिकमास पर्दछ । क्षयमास कार्तिक, मंसिर र पुष महिनामा मात्र पर्छ । तर क्षयमास मलमासको तुलनामा निकै कम पर्दछ । मलमास र क्षयमासको निर्णय चान्द्रमास बाट नै लिनुपर्छ । सौरमासबाट लिनु हुँदैन । सौरमास अनुसार मलमास हुने भए संक्रान्ति पनि १३ वटा हुनुपथ्र्यो तर संक्रान्ति १२ वटा मात्र नै हुन्छ । शक्ल पक्षको प्रतिपदा देखि कृष्ण पक्षको औँशी सम्मको अवधि नै मलमास हुने भएकाले चान्द्रमासबाट नै मलमासको निर्धारण हुन्छ भन्ने कुराको प्रमाण पुग्दछ ।
सौरमास र चन्द्रमासको बीच अन्तरहरु बढ्दै जाँदा हरेक तीन वर्षमा एक महिना पुग्छ र अधिकमास बन्दछ । “सिद्धान्त शिरोमणि”मा अधिक मासको बारेमा धेरै कुराहरुको जानकारी दिइएको छ भने “ज्योतिः सारशिरोमणि” नाम गरेको ज्योतिष ग्रन्थमा मलमास संबन्धि वशिष्ठ ऋषिको मतलाई राखिएको छ —
द्वात्रिंशद्भिर्गतैर्मासैर्दिनैः षोडशभिस्तथा ।
घटिकानां चतुष्केण पतत्यधिकमासकः ।।
अर्थात् सामान्यतया २ वर्ष, ८ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमासको योग बन्दछ ।
अन्य महिनाहरु भन्दा यस महिनामा गरेको भजन कीर्तन र सत्संगको महिमा ठूलो छ भन्ने कुरा पुरुषोत्तम माहात्म्यको कथामा उल्लेख गरिएको छ । यो अवधिभर भगवान् विष्णुको पूजा गरि धर्मग्रन्थहरु सुन्नु राम्रो मानिन्छ । अझै सके महिनाभरी नसके एकदिन मात्र भए पनि ब्राह्मणलाई बोलाएर ३३ वटा मालपुवा दान गर्नुपर्ने नियम छन् । यसरी मालपुवा दान गरेमा भगवान् नारायण प्रसन्न हुुन्छन् भन्ने मान्यता रहेकोले काँसको थालमा तुलसीपत्र राखि मालपुवा र थाललाई पहेँलो कपडाले बेरेर दान गर्नुपर्दछ । यसरी मालपुवा दान गरेमा भगवान् विष्णु प्रसन्न बन्नुहुन्छ । भगवान् विष्णुले जसरी मलमासलाई आफ्नो बनाएर पुरुषोत्तम मास भन्ने नाम दिइ कल्याण गर्नु भएको थियो त्यसरी नै आफ्नो त्यस भक्तलाई पनि कल्याण गर्नुहुन्छ भन्ने कुरा पुरुषोत्तम माहात्म्यमा उल्लेख गरिएको छ ।
पौराणिक प्रसङ्ग
पुराणहरुमा पनि मलमासको बारेमा निकै कुराहरु उल्लेख गरिएको छ । धेरै जसो पुराणमा मलमासको बारेमा वर्णन गरिएको छ । त्यस मध्ये श्रीमद्भागवत महापुराणमा पनि मलमासको बारेमा केही वर्णन गरिएको छ । यसको प्रसङ्ग भगवान् नारायणको २४ अवतार मध्ये नृसिंह अवतारसँग जोडिन्छ । प्रचिन समयमा कारणवश विष्णुका पार्षदहरु जय र विजय नै राक्षस बन्नुपर्यो । महर्षि काश्यपको छोरा भएर यिनीहरुले जन्म लिए । हिरण्यकशिपु भगवान विष्णुसँग आफ्नो भाई हिरण्याक्षको वध गरेको वदला लिन चाहन्थ्यो । त्यसकारण उसले ब्रह्माजीको तपस्या ग¥र्यो । प्रसन्न भएका ब्रह्माजीसँग उसले धेरै वरदानका साथै कुनै पनि सालको १२ महिना मा नै आफ्नो मृत्यु नहुने वरदान प्राप्त गर्यो । ब्रह्माजी सँग वरदान पाएपछि उ निकै अत्याचारी भयो र धर्म र समाज माथी प्रहार गर्न थाल्यो । त्यसैकारण उसको वध गर्न भगवान् विष्णुले नै अवतार लिनुपर्यो । टाउको सिंहको जस्तो र शरिर मानिसको जस्तो भएको भगवान् विष्णुको नरसिंह अवतार भयो । सबै वरदान त पुरा भयो तर उसले सालको १२ महिनामा नै आफ्नो मृत्यु नहोस्् भनेको हुनाले त्यही हिरण्य कशिपुलाई मार्न नै भगवान् विष्णुले तेह्रौँ महिना अर्थात् मलमासको सृष्टि गरि हिरण्यकशिपुको वध गर्नु भएको हो । त्यसकारण अधिकमासको निर्माण भगवान् विष्णुबाट नै भएकोले यस महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ । यस समयमा भगवान् विष्णुको पूजा गरि पुरुषोत्तम माहात्म्य कथा श्रवण गर्ने गरिन्छ ।

कमेन्ट छाेड्नुहाेस्

Please enter your comment!
Please enter your name here