पद्मिनी एकादशी
एकपटक वनवासको समयमा राजा युधिष्ठिर र भगवान् श्रीकृष्णको संवाद यही एकादशीको बारेमा भएको छ । युधिष्ठिरले भन्नुभयो भगवन् ! अधिक मास अर्थात् मलमासको शुक्ल पक्षमा पर्ने एकादशीको के महत्व रहेको छ र यसको नाम के हो ? र यस एकादशीको व्रत गर्नाले के फल पाइन्छ ?
भगवान् भन्नुहुन्छ — राजन् ! अपमानले मलमास भनिएता पनि यस महिनालाई मैले आफ्नो बनाएको छु । त्यसकारण यो महिनाको नाम पुरुषोत्तम महिना अर्थात् मेरो महिना हो । अन्य महिना भन्दा पुरुषोत्तम महिना मेरो लागि अति प्रिय छ । पुरुषोत्तम महिनामा पनि एकादशी त मलाई धेरै मनपर्ने तिथि हो । जो मनुष्य पुरुषोत्तम महिनामा पर्ने २ वटा एकादशीको व्रत गर्दछ । त्यो मानिस मेरो नै हो ।
आज परेको एकादशीको नाम पद्मिनी एकादशी हो । यो एकादशी अन्य एकादशी जस्तो प्रत्येक वर्ष आउँदैन । ३÷३ वर्षमा आउने अधिकमासको समयमा मात्र यो एकादशी आउने भएकाले यसको महत्व भिन्नै छ । यस एकादशीको व्रत गर्नाले यो लोक र परलोक दुवै बलियो बन्दछ । यस व्रत विधिको बारेमा भन्छु सुन्नुहोस् ः— राजन् ! यस एकादशीको व्रत बस्नको लागि पुरुषोत्तम महिना शुरु भएपछि नै शुद्ध र पवित्र भएर बस्नुपर्दछ । नित्य स्नान तथा सन्ध्यावन्दन पनि गर्नुपर्दछ । शुक्ल पक्षको दशमीको दिन कर्ताले हविष्यान्न खानु पर्दछ । लसुन, प्याज, मांश, मदिरा, मसुरो, कोदो जस्ता अशुद्ध कुराहरुको त्याग गर्नुपर्छ । यस्तै गरेर साग, मह, अर्काको अन्न आदिको सेवन र सहवास पनि गर्नुहुँदैन । यस दिन समुद्री नुन नहालेको सागसब्जी एक छाक लिन सकिन्छ । काँसको थाल वा टपरीमा भोजन गर्नु राम्रो मानिन्छ । एकादशीको दिन बिहानै उठी गोबर, अमला, माटो आदि जीउमा लगाएर स्नान गर्नुपर्छ ।
स्नान गरि शुद्ध वस्त्र लगाएर आफ्नो नित्यकर्मलाई सक्नुपर्दछ । अनि आफ्ना पितृहरुलाई तर्पण निकै राम्रो मानिएको छ । त्यसपछि दीयो, कलश, गणेश आदीको पूजा गरेर लक्ष्मी नारायण र गौरीशङ्कर भगवान्को पूजा गर्नुपर्दछ । सम्पूर्ण जुटाइएको सामाग्रीहरुले पूजा गरेर रातीमा जाग्राम गर्नुपर्दछ । चार प्रहरमा चार आरती नै गर्नुपर्छ । पहिलो प्रहरको आरती पछि नरिवल राखेर अघ्र्य दिनुपर्छ, दोश्रो प्रहरमा आरती गरि बेल राखेर अघ्र्य दिनुपर्छ । तेश्रो प्रहरमा बिमोरो राखेर अघ्र्य दिनु र चौँथो प्रहरमा सुपारि राखेर अघ्र्य दिएमा ठूलो ठूलो यज्ञहरु गर्दा पाइने फल पाइन्छ ।
व्रतको भोलिपल्ट बिहानै उठी स्नान आदि गरेर पूजा आजा गरि प्रसादहरु लगाउनु पर्दछ । यसरी जसले यस एकादशीको व्रत गर्दछ उसले आफुले चाहेको मनोकामना पुरा हुन्छ । माहिष्मती पुरका हैहय वंशी राजा कार्तवीर्यले पनि यही एकादशीको व्रत गरि सन्तान पाएका थिए भने रावण जस्ता शक्तिशाली राजालाई पनि बन्दी बनाउन सफल भए । र आफ्नु अनुकुल छोरा पनि पाए । त्यसकारण यस एकादशीको महत्व निकै ठूलो रहेको कुरा एकादशी माहात्म्यमा बताइएको छ र यही व्रतले नै सबैको कल्याण गर्ने कुरा पनि यसको माहात्म्यमा भनिएको छ ।

कमेन्ट छाेड्नुहाेस्

Please enter your comment!
Please enter your name here