ज्योतिष शास्त्रमा कुनै पनि  बालकको दाँत कति महिनामा आउनु शुभ र कति महिनामा आउनु अशुभ भन्ने कुरा पनि चर्चा गरिएको छ ।
कुनै पनि बालक जन्मेको पहिलो महिनामा नै दाँँत आएमा यसलाई अशुभ संकेत मानिन्छ । जन्मेको पहिलो महिनामा दाँत पलाएमा आफ्नै आयुको लागि अरिष्ट हुने गर्दछ । दोश्रो महिनामा दाँत पलाएमा आफु पछि जन्मिने भाइलाई अरिष्ट गर्ने गर्दछ । जन्म भएको तेश्रो महिनामा दाँत पलाउनु पनि अशुभ हुन्छ । तेश्रो महिनामा दाँत पलाएमा आफु पछि जन्मिने बहिनीको लागि कष्ट दिने योग बन्दछ ।

बालकको जन्म भएको चौँथो महिनामा दाँत निस्केमा जन्म दिने आमालाई कष्ट हुने गर्दछ, या भनौँ आमाको स्वास्थ्य खराव हुने संभावना धेरै रहन्छ । पाँचौ महिनामा दाँत आएमा आफु भन्दा अघि जन्मिएका दाईहरुलाई कष्ट दिने गर्दछ । दाजुहरुको स्वास्थ्य वा कामकाजमा केही समस्याहरु आउँछ ।

जन्म भएको छैटौँ महिनामा दाँत पलाएको छ भने यसलाई शुभ मानिन्छ । छैटौँ महिनामा दाँत पलाएमा त्यो बालक जीवनमा निकै सुखी हुने गर्दछ । सातौँ महिनामा दाँत आएको बालकले पितृ सुख निकै पाउँछ । बुवाको साथ र सहयोगले नै उसले आफ्नो भविष्यलाई सुरक्षित गर्दछ । आठौँ महिनामा दाँत आएमा बालक निरोगी, हृष्टपुष्ट शरिरको र सुन्दर स्वरुपको हुन्छ । जन्म भएको नवौँ महिनामा दाँत पलाउनु पनि निकै राम्रो मानिन्छ । नवौँ महिनामा दाँत पलाएको बालकले घरमा लक्ष्मीलाई ल्याउँछ । यस्तो सन्तान भएको मानिसको घरमा वा बालकको घरमा धन संपत्तिको धेरै ठूलो अभाव हुँदैन । लक्ष्मीको कृपा रहिरहन्छ र दशौँ महिनामा दाँत पलाएमा पनि मानिस सुखी र परिवारको साथ बस्न पाउँदछ ।

यसै गरि एघारौँ महिनामा दाँत आएमा बालक अति सुखी हुन्छ र बाह्रौँ महिनामा दाँत आएमा त्यस बालकले विभिन्न प्रकारका धन संपत्ति, सवारी साधन तथा भौतिक सुख सुविधालाई पाउँछ भन्ने ज्योतिष शास्त्रको मान्यता रहेको छ ।
यदी कुनै पनि बालक जन्मिदा गर्भमा नै दाँत पलाएको छ भने यसलाई अशुभ मानिन्छ । यस्तो अवस्थामा घरमा धेरै प्रकारका दुःख कष्टहरु आउँदछन् र जन्म दिने आमा बुबालाई पनि निकै समस्या पर्दछ । यसै गरि तलको भन्दा माथिको दाँत पहिला आउनुलाई पनि अशुभ मानिन्छ यसले पनि घरमा निकै समस्या दिने ज्योतिषीय मान्यता छ । यसकाे बारेमा मुहुर्त चिन्तामणिमा यस्ताे प्रमाण छः

मासे चत्प्रथमे भवेत्सदशनो बालो विनश्येत्स्वयं हन्यात्स क्रमतोऽनुजातभगिनीमात्रग्रजान् द्व्यादिके ।
षष्ठादौ लभते हि भोगमतुलं तातात्सुखं पुष्टतां लक्ष्मीं सौख्यमथो जनौ सदशनो वोर्ध्वं स्वपित्रिदहा ।।

दन्तोत्पत्ति फल
पहिलो मासः स्वयंनाश । दोस्रोः भाइलाई कष्ट । तेस्रोः दिदीबहिनीलाई हानी । चौँथो मासः मातृकष्ट । पाँचौँ मासः दाजुलाई हानी । छैटौँ मासः अत्यन्त सुख । सातौँ मासः पितृसुख । आठौँ मासः शरीरपुष्टि । नवौँ मासः लक्ष्मीप्राप्ति । दशौँ मासः सुख । एघारौँ मासः सुख । बाह्रौँ मासः धनलाभ । सदन्त जन्म वा उर्ध्वदन्त जन्म भएमा सर्वहानी र कष्ट मिल्छ ।

यदी यस्ता अशुभ हुने समयमा दाँत आयो भने त्यसको दोषको निवारणको लागि मृत्युञ्जयको जप, ग्रह शान्ति र यसको शान्ति विधानले दान आदि कार्य गरेमा यसको दोष कम हुन्छ । सामान्यतया बालकको जन्म भएको ६ महिना अघि नै दाँत पलाउनु वा, विशेष गरेर माथी बाट पहिला पलाउनुलाई अशुभ मानिन्छ भने ६ महिना शुरु भएपछि दाँत पलाउँनु निकै राम्रो हुने ज्योतिष शास्त्रको मान्यता रहेकोछ

कमेन्ट छाेड्नुहाेस्

Please enter your comment!
Please enter your name here